बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गिता श्रेष्ठको ०८० फागुन १० गतेको इजलासले गल्छी गाउँपालिका-६ का २९ वर्षीय रबि ढुङ्गानालाई १९ वर्ष कैद सजाय र ७ लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । कसुरदारबाट गरिएको जरिबाना बापतको ३ लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने फैसला गरिएकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयाे ।

श्रेस्तेदार भण्डारीका अनुसार बलात्कार मुद्दामा ढुङ्गानालाई सघाएकाे कसुरमा पत्नी २७ वर्षीया रबिना भुजेल ढुङ्गानालाई ६ महिना कैद सजाय र ८० हजार रुपियाँ जरिबाना गरिएकाे छ ।

पीडित बालिकालाई ढुङ्गानाले पटक पटक र अन्तिम पटक ०७९ मङ्सिर ४ गते बलात्कार गरेकाे भन्दै पीडित पक्षले मङ्सिर २६ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते धादिङ अस्पतालमा भयो । ढुङ्गाना मङ्सिर २७ गते गिरफ्तार भएका थिए ।


सीताराम अधिकारी