बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला

  ०८१ भदौ २३ गते

तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै ५० हजार रूपियाँ जरिवाना पीडित राहत कोषबाट भराउन आदेश भएको अदालतका श्रेष्तेदार भेषराज भट्टराईले बताउनुभयो ।

पीडित बालिकालाई ०७९ फागुन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७९ फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई प्रहरीले फागुन १६ गते घरबाटै गिरफ्तार गरि फागुन २९ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्धा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ईङ्नामको ०७९ फागुन ३० गतेको इजलासले आरोपित बालकलाई संरक्षकको जिम्मा लगाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ फागुन १६ गते गरिएको थियो ।


राकेश नेपाली