बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

  ०७९ माघ २० गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला  माघ १९ गरेको छ ।

जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजालाशले अभियुक्तलाई १३ वर्षको कैद र ५ लाख रुपियाँ पीडितले क्षतिपुर्ति पाउने गरी फैसला गरेको जिल्ला अदालतका नायब सुब्बा कमलप्रसाद ढुङ्गानाले बताउनु भयो ।

बालिकालाई घर पुर्‍याइ दिन्छु भनेर आरोपितले मोटरसाइकलमा लगेर २०७८ फागुन १५ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन १६ गते जिल्ला प्रहरी कार्यालय, अछाममा उजुरी गरेका थिए ।

राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक समेत रहेका आरोपितलाई फागुन १६ गते ईलाका प्रहरी कार्यालय, ठाँटीले गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय, मंगलसेन पुर्याएको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते नै जिल्ला अस्पताल, अछाममा गरिएको थियोे ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत २०७८ चैत ८ गते जबरजस्तीकरणी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकोमा जिल्ला अदालतले चैत ११ गते आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो


शिवराज ढुङ्गाना