बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

  ०८१ असोज १५ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ कालीखोलाका २१ वर्षीय सुनिल मगरलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ असोज १४ गतेको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै ५ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २ हजार ८ सय रुपिँया भराउन आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

बालिकालाई आरोपितले ०८१ वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा मगरलाई प्रहरीले ०८१ वैशाख ११ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा वैशाख ३० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको वैशाख ३१ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ वैशाख ११ गते गरिएको थियो ।


राकेश नेपाली