बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

  ०८१ भदौ २७ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले भदो २५ गते बेनिघाट रोराङ गाउँपालिका–७ एललेख बस्ने ४० वर्षीय भारतीय नागरिक सञ्जयकुमार प्रसादलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश मनकुमारी जिएम बिकको इजलासले गरेको फैसलामा कसुरदारलाई ५ लाख रुपियाँ जरिबाना गर्न र पीडितलाई २ लाख रुपियाँ क्षतिपूर्ति दिन भनिएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनु भयो ।

पीडित बालिकालाई सञ्जयले ०८० वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० वैशाख २८ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते नै धादिङ अस्पतालमा गरिएको थियो । तत्कालिन अवस्थामा फरार भएका सञ्जयलाई ०८१ वैशाख २ गते प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनायो । सञ्जय ०८१ वैशाख १७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेको पनि प्रहरीले जानकारी दिएको छ ।


सीताराम अधिकारी