बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

  ०७८ चैत २४ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाँचखपन नगरपालिका–३ का १९  वर्षीय दुर्गामान राईलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १२ वर्ष ६ महिना कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका स्रेस्तेदार केदारप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदार राईलाई ५ हजार रुपियाँ जरिवाना र पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ जम्मा गर्न आदेश भएको स्रेस्तेदार  गौतमले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ वैशाख १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध  वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन पाँचखपनबाट गिरफ्तार गरी जिल्ला अदालतमा ०७८ जेठ ५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको जेठ ७ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ वैशाख १८ गते गरिएको थियो ।


भविन कार्की