बलात्कार गरेको कसुरमा १२ वर्ष ५ महिना कैद सजायको फैसला

  ०७८ चैत ६ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई गाउँपालिका–१ चुहानडाँडाका २१ वर्षीय शिशिर लिम्बू र झापा, अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय अशोक घिमिरेलाई लाई १२ वर्ष ५ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको चैत ६ गतेको इजालसले कसुर ठहर गर्दै जनही १२ वर्ष ५ महिना कैद, २५ हजार रुपियाँ जरिबाना र सामूहिक बलात्कार मुद्दामा थप नौ महिना कैद सजायको फैसला आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितद्वयले ०७८ पुस ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७८ पुस १९ गते गिरफ्तार गरी जिल्ला अदालतमा माघ ११ गते बलात्कार शीर्षकमा मुद्दा गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको ०७८ माघ २७ गतेको आदेशमा आरोपितद्वय पुर्पक्षका लागि थुनामा  थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १९  गते गरिएको थियो ।


सुरेश खत्री