बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

  ०७८ भदौ २९ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धर्मदेवी नगरपालिका–९ का २० वर्षीय आशिष वर्देवालाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको भदौ २७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ३ लाख रुपियाँ जरिबाना र पीडितले पाउने गरी ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ पुस ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा पुस २६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा ०७७ पुस ५ गते गरिएको थियो ।


भविन कार्की