बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

  ०७८ असार ३ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का ३८ वर्षीय रमेश भन्ने मैते विकलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत स्याङजाका न्यायाधीश वसन्तराज पौडेलको असार २ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई १२ वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपुर्तीको फैसला गरेको जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिएका थिए । पीडितको उजुरीपछि प्रहरीले आरोपितलाई मङ्सिर ८ गते पोखराबाट गिरफ्तार गरेको थियो ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला अदालत स्याङ्जामा जबरजस्तीकरणी शीर्षक अन्तरगत मङ्सिर २८ गते मुद्दा दर्ता गरेको थियो ।


तिलकुमारी थापा