बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

  ०७८ वैशाख १ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गलकोट नगरपालिका–५ का २९ वर्षीय थम्मनबहादुर पाण्डेलाई  १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत ३१ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई १२ वर्ष कैद सजाय र ८० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७६ मङ्सिर २३ गते देखि पुस २ गतेसम्म डरधम्की देखाएर निरन्तर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध ०७६ फागुन ५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको थियो ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मार्फत फागुन १४ गते जिल्ला अदालत बागलुङमा जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गरेका थिए ।


सिर्जना पन्त