बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

  ०८१ मङ्सिर १२ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा ३९ वर्षीय दाजूलाई जिल्ला अदालत धादिङले मङ्सिर ११ गते  ११ वर्ष कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदार ठहरिएका दाजूलाई जबरजस्ती करणी गरेको कसुरमा मुलुकी अपराध संहिता २०७४ को दफा ३१९ को ३ (ङ) बमोजिम सात वर्ष र हाडनातामा  बलात्कार गरेको कसुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २२० को २ (ख) बमोजिम चार वर्ष गरी ११ वर्ष कैद गर्ने फैसला गरेको श्रेस्तेदार माधव भण्डारीले बताउनु भयो ।

कसुरदारबाट ३ लाख ४० हजार रुपियाँ जरिबाना गर्ने र सो जरिबाना गरिएको रकम पीडितलाई क्षतिपूर्ति दिन समेत फैसलामा उल्लेख छ ।

पटकपटक बलात्कार गरेको र पछिल्लो पटक ०८० असार ३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा माघ २१ गते उजुरी दिएको सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा माघ २२ गते गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमार्फत माघ २२ गते जिल्ला अदालतमा पेश गरिएका आरोपित विरुद्ध जिल्ला अदालतमा फागुन १५ गते मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतको फागुन १८ गतेको आदेशले कसुरदार पुर्पक्षका लागि थुनामा रहेका थिए ।


सीताराम अधिकारी