बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मैवाखोला गाउँपालिका–५ फाकुम्बाका १९ वर्षीय लाक्पातार्के शेर्पालाई असोज १७ गते ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २ लाख रुपियाँ क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा १ हजार ८ सय रुपियाँ जम्मा गर्न आदेश भएको अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित युवतीलाई आरोपितले ०७६ साउन २९ गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले आरोपितविरूद्ध ०७६ चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरी जिल्ला अदालतमा चैत २८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको ०७६ चैत २८ गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ चैत ९ गते गरिएको थियो ।


देवराज गुरुङ