बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०८१ वैशाख ७ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोरङ जिल्ला, मिक्लाजुङ गाउँपालिका स्थायी घर भइ चैनपुर नगरपालिका-१ मा बस्दै आएका १९ वर्षीय दीपेन राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८१ वैशाख ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदारलाई ५ लाख रूपियाँ जरिबाना, राहत कोषमा २० हजार रूपियाँ जम्मा गर्न र १० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार केसीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ माघ २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७९ फागुन ८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०७९ फागुन १२ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ फागुन २ गते गरिएको थियो ।


भविन कार्की