बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०७९ चैत २८ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मादी नगरपालिका–५ का २१ वर्षीय मिन बहादुर तामाङलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत २७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १० वर्ष कैद सजायसँगै २० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदारलाई पीडित राहत कोषमा १ हजार ८ सय रुपियाँ जम्मा गर्न आदेश भएको श्रेस्तेदार  गौतमले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ मङ्सिर १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर २ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले मङ्सिर ३ गते मादीबाट गिरफ्तार गरी जिल्ला अदालतमा मङ्सिर २४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको मङ्सिर २३ गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ मङ्सिर २ गते गरिएको थियो ।


भविन कार्की