बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका-१० का २१ वर्षीय कान्छा भन्ने राजेन्द्र रूम्बा र २० वर्षीय छिरिङ घिसिङलाई जनालाई जनही १० वर्षकैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश खडानन्द तिवारीको असार ४ गते बसेको इजलासले कसुरदारबाट जनही ४० हजार रुपियाँ क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ ।

अदालतले बलात्कार गरेकोमा पाँच वर्ष र सामूहिक बलात्कार गरेकोमा थप पाँच वर्षगरी १० वर्षकैद गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार अनन्त मरासिनीले बताए ।

पीडित युवतीलाई आरोपितद्वयले जेठ ११ गते हेटौँडा उपमहानगरपालिका-२ स्थित एक होटलमा बलात्कार गरेको आरोप थियो ।

प्रहरीले आरोपितद्वयलाई जेठ १२ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित पक्षले जेठ १२ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १२ गते हेटौँडा अस्पतालमा गरिएको थियो ।


प्रताप विष्ट