बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

  ०८१ कात्तिक १३ गते

६६ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लिम्चुङबुङ गाउँपालिका-४ बलम्ताका ५७ वर्षीय श्यामशेर राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ कात्तिक १२ गतेको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १३ हजार रुपिँया भराउन आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

ज्येष्ठ नागरिक महिलालाई आरोपितले ०८१ वैशाख ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा राईलाई प्रहरीले ०८१ वैशाख ११ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा वैशाख २८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ईङनामको ०८१ वैशाख ३० गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ वैशाख ११ गते गरिएको थियो ।


राकेश नेपाली