बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

  ०८१ असार २७ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले बेलका नगरपालिका-७ मैनामैनीका बिलिइन्द्र राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ असार २६ गतेको इजलासले कसुर ठहर गर्दै ३ लाख रुपियाँ जरिबाना, ३५ हजार रुपियाँ क्षतिपूर्ति र २ हजार ३ सय रुपियाँ पीडित राहतकोषमा भराउन आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

बालिकालाई आरोपितले ०८० मङ्सिर ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर ४ गते इलाका प्रहरी कार्यालय, रामपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०८० मङ्सिर ४ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा मङ्सिर २९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० मङ्सिर ४ गते गरिएको थियो ।

त्यसैगरी २५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-८ उत्तराइटोलका २३ वर्षीय आकाश चौधरीलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपक खरेलको ०८१ असार २५ गतेको इजलासले कसुर ठहर गर्दै १ लाख ५० हजार  रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र ६ हजार रुपियाँ पीडित राहतकोषमा भराउन आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

महिलालाई आरोपितले ०८० साउन २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०८० साउन २५ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा भदौ १७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० साउन २५ गते गरिएको थियो ।

त्यसैगरी, जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ असार २५ गतेको इजलासले नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चौदण्डीगढी नगरपालिका-४ बसाहाका २१ वर्षीय सुमन राईलाई १ महिना १५ दिन कैद सजायको फैसला गरेको छ ।

बालिकलाई ०७९ चैत ५ गते यौन दुर्व्यवहार गरेको कसुरमा दोषी ठहर गर्दै  राईलाई कैदसँगै ५ हजार जरिबाना, ३५ हजार रुपियाँ क्षतिपूर्ति र २ सय रुपियाँ पीडित राहत कोषमा भराउन आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

पीडित पक्षले आरोपितविरूद्ध ०७९ चैत २० गते इलाका प्रहरी कार्यालय, रामपुरमा दिएको उजुरीको आधारमा प्रहरीले आरोपितलाई सोही दिन बेल्टार बजारबाट गिरफ्तार गरेको थियो ।

आरोपितविरुद्द प्रहरीले ०८१ वैशाख १६ गते जिल्ला अदालतमा यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ चैत २० गते गरिएको थियो ।


राकेश नेपाली