बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

  ०७८ असार २९ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत म्याग्दीका न्यायाधीश तेजनारायण पौडेलको असार २८ गतेको इजालसले कसुर ठहर गर्दै आरोपितलाई १२ वर्ष ६ महिना कैद सजाय, ३ लाख रुपियाँ जरिवाना र २५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको हो ।

पीडितलाई आरोपितले ०७७ मङ्सिर २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जबरजस्तीकरणी शीर्षक अन्तर्गत ०७७ मङ्सिर २६ गते जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता गरेको थियो ।


अमृतप्रसाद पौडेल