बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

  ०७३ मङ्सिर ३० गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित रामपुर गाविस-१ निमुरियाका ३१ वर्षीय डम्मरबहादुर जिसीलाई दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले पाँच वर्षकैदको फैसला गरेको छ ।

न्यायाधीश चुरामन खड्काको इजलासले जिसीलाई दोषी ठहर गर्दै मङ्सिर ३० गते पाँच वर्षकैद गर्ने फैसला गरेको हो ।

मानसिक सन्तुलनमा कमजोरी भई हिँडिरहेकी पीडित महिलालाई जिसीले ०७३ असोज २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले असोज २७ गते आरोपितलाई गिरफ्तार गरी बलात्कारसम्बन्धी मुद्दा चलाएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २७ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।

घटनाको एक महिनापछि कात्तिक २६ गते पीडित महिलाको मृत्यु भएको घर परिवारले जनाएको छ । पीडितको मृत्यु भएकाले अदालतले क्षतिपूर्ति दिइरहनु नपर्ने फैसला गरेको छ ।


जेएन सागर