बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजाय फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको ०८० माघ ५ गतेको इजलासले ज्वालामूखी गाउँपालिका-६ का ७५ वर्षीय रेशम गुरुङलाई नौ वर्ष कैद सजाय र तीन लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ ।

मानसिक रूपमा समस्या परेकी पीडित महिलालाई ०८० असार ३० गते बलात्कार गरेको भन्दै गुरुङ विरुद्ध पीडित पक्षले असार ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । गुरुङलाई प्रहरीले असार ३१ गते गिरफ्तार गर्‍यो । पीडितको स्वास्थ्य परीक्षण असार ३१ गते धादिङ अस्पतालमा भएको थियो ।

प्रहरीले गुरुङ विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् साउन २२ गते जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको सोही दिनको आदेशले गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।


सीताराम अधिकारी