बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला

  ०८१ भदौ २३ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१ भदौ २१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ३० हजार रुपियाँ जरिबाना र १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मगरविरूद्ध जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

मगरलाई प्रहरीले ०८१ जेठ ७ गिरफ्तार गरी जिल्ला अदालतमा ०८१ जेठ ३१ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा ०८१ जेठ ७ गते गरिएको थियो ।


विनोद सुवेदी