बलात्कार गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

  ०७८ भदौ १८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाँचखपन नगरपालिका–८ का ३८ वर्षीय सुरेश तामाङलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको भदौ १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७६ माघ ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले माघ १० गते गिरफ्तार गरी जिल्ला अदालतमा माघ २३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ११ गते गरिएको थियो ।


भविन कार्की