बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

  ०७९ चैत १८ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका१ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ७५ हजार रुपियाँ जरिबानाको आदेश भएको अदालतका इजलास सहायक निमा छिरिङ शेर्पाले बताउनु भयो ।

अदालतबाट कैद सजायको आदेश भएपनि कसुरदार बालक भएकाले अभिभावकको जिम्मा लगाउन आदेश भएको इजलास सहायक शेर्पाले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितहरुले ०७९ मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित तीन जना बालकविरुद्ध मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा पुस ९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १९ गते गरिएको थियो ।

बालबालिका सम्बन्धी ऐन,२०७५ परिच्छेद४ बाल न्याय सम्बन्धी ३६ को सजाय सम्बन्धी व्यवस्था (२) मा दश वर्ष वा सो भन्दा माथि र चौध वर्षभन्दा कम उमेरको बालबालिकाले जरिवाना हुने कसुरजन्य कार्य गरेको भए निजलाई सम्झाई बुझाई छाडिनेछ, र कैद हुने कसुरजन्य कार्य गरेको भए कसुरको प्रकृति हेरी ६ महिनासम्म कैद सजया गर्न वा कैद नगरी बढिमा एक वर्षसम्म बाल सुधार गृहमा राखिनेछ भनि उल्लेख छ ।

 


देवराज गुरुङ