बलात्कार गरेको कसुरमा कैदको फैसला

  ०८१ भदौ ३१ गते

७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ ।

न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद र ७ लाख रुपियाँ जरिबाना गर्न फैसला गरेको छ । कसुरदारले जरिबानाबापत तिर्ने ७ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिन समेत फैसलामा उल्लेख गरिएको छ ।

वृद्ध बलात्कार कसुरमा जन्मकैद हुने कानुनी व्यवस्था छ । कसुरदार साविति भएको र घटनाको अवस्था र प्रकृति हेर्दा सजाय चर्को पर्नसक्ने देखिएकोले जन्मकैदको सट्टा कसुरदारलाई १० वर्षमात्र कैद गर्नका लागि छुट्टै राय प्रस्तुत गरी उच्च अदालत पाटनमा सादक सदरका लागि पठाइएको जिल्ला अदालतकी सूचना अधिकारी कविता प्रजापतिले बताउनु भयो । उच्च अदालतले सादक सदर गरेमा कसुरदारले १० वर्षमात्र कैद बसे पुग्छ ।

०८१ असार १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २४ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकोमा कसुरदारलाई असार २४ गते गिरफ्तार गरिएको थियो ।

कसुरदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार २५ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । पीडितको स्वास्थ्य परीक्षण असार २५ गते धादिङ अस्पतालमा गरिएको थियो ।


सीताराम अधिकारी