बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको ०८० माघ ९ गतेको इजलासले १७ वर्षीय बालकलाई आठ वर्ष कैद सजाय र ३ लाख ३३ हजार ३ सय ३४ रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । कसुरदारबाट गरिएको जरिबाना बापतको रकम पीडितलाई क्षतिपुर्ति दिने फैसला गरिएकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयाे ।

पीडित बालिकालाई बालकले ०८० साउन १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २३ गते इलाका प्रहरी कार्यालय, गजुरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २४ गते धादिङ अस्पतालमा भयो । बालक साउन २४ गते गिरफ्तार भएका थिए ।

प्रहरीले बालक विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् ०८० भदौ १६ गते जिल्ला अदालतमा जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको सोही दिनको आदेशले बालकलाई पुर्पक्षका लागि भक्तपुरस्थित बालसुधार गृहमा पठाएको थियो ।


सीताराम अधिकारी