बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

  ०७९ वैशाख ७ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रुपनी गाउँपालिका–६ तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई जिल्ला अदालतले वैशाख ७ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले आरोपित सुरेशलाई बलात्कार गरेको अभियोगमा आठ वर्ष कैद सजाय गरेको अदालतका सुचना अधिकारी भरतमणी पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार आरोपितबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन समेत फैसला भएको छ ।

तत्कालिन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आरोपितलाई ०७३ फागुन ८ गते २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो । अर्का आरोपित सोही ठाउँका २० वर्षीय आकाश भनिने रमेशकुमार सरदार फरार रहेकाले सरदारको मुद्दा मुल्तबी रहेको छ ।

आरोपितहरुले ०७३ माघ ५ गते राति १२ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोप लगाउँदै पीडितहरुका परिवारका सदस्यले ०७३ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपितहरुले फोन गरेर बोलाई तेरहौता बिरेन्द्र बजारको यात्री बस्ने चौतारामा बलात्कार गरी रुपनी गाउँपालिका–१ स्थित रुपनी बजारमा छाडेको पीडितहरुले बताए ।

पीडितहरुको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७३ माघ ११ गते गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितहरुविरुद्ध ०७३ माघ १० गते जबरजस्ती करणीको उजुरी दर्ता गरी आरोपितहरुमध्ये सुरेशलाई सोही दिन गिरफ्तार गरेको थियो ।

अदालतबाट सुरेश ०७३ फागुन ८ गते धरौटी राखी तारेखमा रिहा भएको प्रहरीले जनायो ।

 


मनोहरकुमार पोखरेल