बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बुढीगङ्गा गाउँपालिका-३ का ३६ वर्षीय राजीव ठाकुरलाई जिल्ला अदालतले असार १० गते ८ वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठाकुरलाई कैदसँगै २१ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङ ५ नम्बर फाँटका नायब सुब्बा सुबोध आचार्यले बताए ।

पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७४ चैत ६ गते ठाकुरविरूद्ध  जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको थियो । पीडित बालिकालाई आरोपितले गत फागुन २० गते बलात्कार गरेको र पीडित बालिका भोलिपल्ट बिहानमात्र सम्पर्कमा आएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख थियो ।

उजुरीपछि प्रहरीले आरोपितलाई चैत १७ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ६ गते विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा गरिएको थियो ।


इन्दिरा भट्टराई