बलात्कार गरी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ २६ गते

शैल्यशिखर नगरपालिका–१ बारिलका ४० वर्षीया एकल महिला अनिभा खडायतलाई जेठ २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका छिमेकी बीरेन्द्र खडायत र तुला खडायतलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

घटनामा संलग्न फरार आरोपित भोजबहादुर खडायतको भने जोखी कार्य भइरहको प्रहरीले जनाएको छ ।

गिरफ्तार गरिएका विरेन्द्र नेकपा माओवादी केन्द्र शैल्यशिखर नगर कमिटिका उपाध्यक्ष हुन् भने फरार रहेका भोजबहादुर नेपाल विद्युत प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्ड हुन् ।

घर नजिकै रहेको खरको लुटोमा जेठ २५ गते विहान ४ बजे आसपास आगो लगाएर महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले बताउनु भयो ।

घटनास्थलमा ढुङ्गा र टाउँकोमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानबाट महिलालाई बलात्कार गरी हत्या गरिएको हुन सक्ने भएपनि पोष्टमार्टमपछि मात्रै वास्तविक के भएको हो भन्न सकिने डिएसपी विष्टको भनाइ छ ।

आमासँगै खरको लुटोमा जलाएर छोरीको समेत हत्या प्रयास गरिएको भएपनि मृतकी छोरी गौमती खडायत भाग्न सफल भई ज्यान जोगिएको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का अध्यक्ष भरतबहादुर खडायतले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘मृतककी छोरी गौमती घटनास्थलबाट भागेर छिमेकी रणविर खडायतको घर पुग्नु भयो । उहाँले आमाको हत्या भएको सुनाएपछि समुदायमा जानकारी भएको हो । घटनास्थल पुग्दा आगोमा जलेर अनिभाको मृत्यु भइसकेको थियो ।’

मदिरा सेवन गरेका आएका व्यक्तिहरुले बलात्कार गरेर हत्या गरेको स्थानीय तथा छिमेकीहरुको आरोप छ ।

मृतक महिलाका पतिको सात वर्ष पहिले मृत्यु भएको थियो । मृतकका दुई छोरी र एक छोरा छन् ।

घटना जटिल भएकोले थप अनुसन्धान भइरहेको र  शवको पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

photo20220609darchual


नरेन्द्रसिह कार्की