बलात्कार गरी हत्या गरेको कसुरमा ३५ वर्षकैदको फैसला

कलैया नपा-८ की आठ वर्षीया कञ्चन ठाकुरलाई २२ महिना अघि बलात्कार गरी हत्या गरेको ठहरमा पिप्राविर्ता गाविस-३ घर भई कलैया नपा-८ मा बस्दै आएका ३० वर्षीय गुल्लु भन्ने अरबिन्दलाल दासलाई जिल्ला अदालत बाराले ३५ वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश सुर्यबहादुर थापाको इजलासले भदौ १९ गते दासलाई ३५ वर्षकैद सजाय र पीडकबाट पीडित परिवारलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

बलात्कार गरेको अभियोगमा १५ वर्ष र हत्या गरेको अभियोगमा २० वर्षगरी ३५ वर्षको सजाय सुनाइएको अदालतका श्रेस्तेदार मोहन सुवेदीले बताए ।

सोही घटनामा संलग्न अभियोगमा कलैया नपा-८ का ३९ वर्षीय मदनकुमार मिश्रलाई दुई वर्ष र १६ वर्षीय एक बालकलाई ६ महिना कैद सजायको फैसला सुनाइएको श्रेस्तेदार सुवेदीले जानकारी दिए ।

०७१ कात्तिक २२ गते भएको उक्त घटनाका आरोपितहरू जिल्ला अदालतको आदेशले ०७१ माघ १० गतेदेखि पूर्पक्षको लागि वीरगन्ज कारागारमा थिए ।


लक्ष्मी सोनार