बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैदको फैसला

५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले भदौ ४ गते मालारानी गाउँपालिका– ९ गोखुङ्गाका ६२ वर्षीय  ओमबहादुर सावतलाई  सात वर्ष कैद सजायको फैसला सुनाएकाे छ ।

जिल्ला अदालतका न्यायाधीश बसन्तराज पौडेलको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद सजायसँगै २ लाख रूपियाँ जरीबाना गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने र ८ हजार रूपियाँ पीडित राहत कोषमा जम्मा गर्ने आदेश गरेको  जिल्ला अदालतका नासु रामप्रसाद आचार्यले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७८ जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई जेठ १७ गते घरबाट गिरफ्तार गरी अनुसन्धान पछि सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा ०७८ असार १० गते जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीस बासुदेब न्यौपानेको ०७८ असार १० गतेको इजलासले आरोपितलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, सन्धिखर्कमा ०७८ जेठ १७ गते गरिएको थियो ।


कूलबहादुर नेपाली