बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई  नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलासले वैशाख ३१ गते बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैद, ३ लाख ५० हजार रूपियाँ जरिबाना र २० हजार रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनुभयो ।

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा ३ मा १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनीका बालबालिकाले कुनै पनि कसुरजन्य कार्य गरेमा निज बालबालिकालाई उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधामात्र सजाय हुने व्यवस्था बमोजिम सो सजाय भएको अदालतले जनाएको छ ।

पीडितलाई आरोपितले ०८० पुस ८ गते गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाएकोमा जिल्ला अदालतले पुस २४ गते अभिभावकको जिम्मा लगाएको थियो ।

 पीडितको स्वास्थ्य परीक्षण पुस ९ गते त्रिशूली अस्पतालमा गरिएको थियो ।


नवदीप श्रेष्ठ