बलात्कार कसुरमा १८ वर्ष कैद तोकिएका फरार कसुरदार गिरफ्तार

  ०७९ असोज ३ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १८ वर्ष कैद तोकिएका कसुरदार धनुषाधाम नगरपालिका–५ पर्वता बस्ने ५७ वर्षीय पल्टु मण्डललाई प्रहरी चौकी उमाप्रेमपुरबाट खटिएको प्रहरी टोलीले भदौ ३१ गते गिरफ्तार गरी असोज १ गते सार्वजानिक गरेको छ ।

बालिकालाई बलात्कार गरि फरार भएका मण्डलविरुद्ध २०७८ कात्तिक ३ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत धनुषा जिल्ला अदालत जनकपुरधाममा मुद्दा दर्ता भएको थियो ।

घटना पछि फरार रहेका मण्डललाई धनुषा जिल्ला अदालतबाट ०७९ साउन ६ गते १८ वर्ष कैद र २ लाख रुपियाँ जरिवाना ठहर हुने गरी फैसला भएको थियो ।

मण्डलले ०७८ भदौ १७ गते घाँस काट्न खेत गएको बेला बालिकालाई १ हजार रुपियाँ दिने प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्याल धनुषाधाममा ०७८ असोज ७ गते उजुरी दिएकी थिइन् ।

बलात्कार गरि रहेको घटनाको भिडियो स्थानीय २० वर्षीय युवा विनोद मुखियाले खिचेका थिए । उनले मण्डललाई भिडियो देखाएर बार्गेनिङ्ग गरेको तर मण्डलले मागबमोजिमको रकम दिन नमानेपछि मुखियाले भिडियो भाइरल गरेपछि घटना बाहिरिएको तत्कालिन धनुषाधाम नगरपालिका–५ का वडा अध्यक्ष इन्दल महतोले इन्सेक धनुषा प्रतिनिधीलाई बताउनु भएको थियो ।

पीडित बालिकाको ०७८ असोज ६ गते नै प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरिएको थियो । घटनापछि फरार मण्डललाई खोजी गर्ने क्रममा प्रहरी चौकी उमाप्रेमपुर धनुषाबाट खटेको प्रहरी टोलीले घरमा लुकीछुपी बसेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरेले बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह