बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

  ०७८ भदौ २९ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–१३ का २१ वर्षीय डम्बर भन्ने दिनेश विकलाई दैलेख जिल्ला अदालतले १२ वर्ष कैद, ५० हजार रूपियाँ क्षतिपूर्ति र १ हजार ८ सय रूपियाँ पीडित राहत कोषमा तिर्नुेपर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट भदौ २८ गते सजायको फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

बलात्कार घटनापछि बालिकाको बच्चा समेत जन्मेको अवस्थामा यो फैसलाले नाता कायम गर्न सहज हुने जिल्ला सरकारी वकील कार्यालयका न्यायाधिवक्ता हरि घिमिरेको भनाइ छ ।

पीडितलाई आरोपितले ०७७ असार १५ गते जङ्गलमा बलात्कार गरेर चैत ५ गते छोरी जन्मिएको भन्दै पीडित पक्षले चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा प्रहरीले आरोपित विकलाई ०७८ जेठ १५ गते गिरफ्तार गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा ०७७ चैत १३ गते भएको थियो ।


अमर सुनार