बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–१० का १६ वर्षीय,  १४ वर्षीय दुई जना र सूर्यगढी गाउँपालिका–५ का १३ वर्षीय बालकलाई नुवाकोट जिल्ला अदालतले १२ वर्षदेखि ६ महिनासम्म कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले असार २३ गते अन्तिम फैसला गर्दै १६ वर्षीय बालकलाई १२ वर्ष, १४÷१४ वर्षीय दुई बालकलाई जनही एक वर्ष तीन महिना र १२ वर्षीय बालकलाई ६ महिना कैद सजायको फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी रीता लामिछानेले जानकारी दिनुभयो ।

चारै जना कसुरदारलाई जनही ४० हजार रुपैयाँ पीडित बालिकालाई क्षतिपूर्ति भराउन पनि आदेश भएको छ ।

पीडित बालिकालाई २०७७ फागुन २९ गते राती पिसाव गर्न शौचालय जाँदा अपहरण गरी कसुरदारहरुले सामूहिक बलात्कार गरेको भन्दै ०७७ चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो ।

पीडित बालिकाको चैत १ गते त्रिशूली अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

कसुरदार ठहर भएकाहरुलाई ०७७ चैत २० गते जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएपछि बालकहरुलाई नेपालगञ्ज पठाइएको थियो ।

तीन जना बालकको कैद सजाय भुक्तान भईसकेकोले उनीहरुलाई रिहा गर्नको लागि अदालतले पत्र पठाइसकेको जिल्ला अदालतका सूचना अधिकारी लामिछानेले बताउनुभयो ।


नवदीप श्रेष्ठ