बलात्कार कसुरमा सात वर्ष कैद र १ लाख रुपियाँ क्षतिपूर्ति सजाय फैसला

  ०७८ असोज २० गते

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दुल्लु नगरपालिका–२ नाउलेकटुवालका २८ वर्षीय ठकेन्द्र थापालाई दैलेख जिल्ला अदालतले असोज २० गते सात वर्ष कैद र १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट थापालाई सात वर्ष कैद र १ लाख रूपियाँ क्षतिपूर्तिको अलवा नेपाल सरकारको पीडित राहत कोषमा १ हजार ३ सय रूपियाँ तिर्नुपर्ने फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानले जानकारी दिनुभयो ।

आरोपितले महिलालाई ०७६ जेठ २७ गते साँझ ८ बजे बलात्कार गरेको भन्दै पीडित पक्षले असार १९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १९ गते दैलेख अस्पतालमा गरिएको थियो ।

प्रहरीमा उजुरी पर्नु अघि नै फरार भएका आरोपित थापा लकडाउनको समयमा भारतबाट घर फर्किएको सन्दर्भमा ०७७ साउन १२ गते हाजिर हुँदा अदालतले ५ लाख रूपियाँ धरौटी र तारेखमा छाडेको थियो ।


अमर सुनार