बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

  ०८१ असार १८ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेकाे कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले ०८१ असार १७ गते १२ वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले असार ९ गते कसुर कायम गरी असार १७ गते सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।

कसुरदारलाई १२ वर्ष कैद गरी ४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना गर्ने र सोही रकम पीडितलाई क्षतिपूर्ति दिने फैसलामा उल्लेख छ ।

बालिकालाई  ०८० चैत  १ गते  बलात्कार गरेको आरोपमा बालकलाई जिल्ला प्रहरी कार्यालयले ०८० चैत ७ गते गिरफ्तार गरेको थियो ।

पीडित पक्षले ०८० चैत ७ गते आरोपितलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको थियो । पीडितको  स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा चैत ७ गते गरिएको थियो ।

जिल्ला अदालतकाे ०८० चैत २८ गतेकाे आदेशले बालकलाई बालसुधार गृह भक्तपुरमा राखिएको थियो ।


सीताराम अधिकारी