बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ असार ७ गते

डाक्नेश्वरी नपा–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादवलाई असार ७ गते गिरफ्तार गरेको छ ।

आरोपितको बयानपछि प्रहरीले घटनाको थप अनुसन्धानका लागि असार ७ गते सोही ठाउँका १९ वर्षीय राजु यादवलाई पनि सोही दिन गिरफ्तार गरेको छ ।

हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र हत्या घटनामा अन्य सहयोगीहरू हुन सक्ने आशङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको आँपबारीमा असार ४ गते बालिकाको शव हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

शवको पोष्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार ५ गते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर उदयभान द्विवेदीले जानकारी दिनु भयो ।

मृतक परिवारका सदस्यका अनुसार बाख्रा चराउन र घाँस काट्नसँगै गएकी पाँच वर्षीया बहिनीलाई शिवानीले सिमसिमे पानी पर्न थालेपछि घर पठाइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरदेखि ८ सय मिटर उत्तर–पूर्व गएकी शिबानीले सिमसिम पानी पर्न थालेपछि हावाले भुँइमा खसालेको आँप टिपेर आउँछु भनी बहिनीलाई घर पठाइन् ।

सोही बेला एकान्तको मौका छोपी आरोपित रोहितले आँप दिने प्रलोभन दिई बालिकाको बलात्कार गरेका हुन् । बालिकाले बलात्कारको घटनाबारे घरपरिवारमा बताई दिने भनेकीले आरोपितले बालिकाको साथमा रहेको हँसियाले घाँटी काटेर हत्या गरेको आरोपित रोहितले स्वीकारेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

घटनापछि एसपी धमला, इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर उमाशङ्कर प्रसाद साह र कडरबोनाका इन्स्पेक्टर विरेन्द्रकुमार पासवानसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

प्राविधिक अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालय जनकपुर एवम् सङ्घीय प्रहरी इकाई कार्यालय जनकपुर तथा तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान टोली घटनास्थलमा पुगेर सुक्ष्म अनुसन्धान गरेको छ ।

पीडित पक्षले दिएको उजुरी असार ७ गते दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर द्विवेदीले बताउनु भयो ।


मनोहरकुमार पोखरेल