बलात्कारपछि हत्या घटनाका आरोपित विरुद्ध उजुरी

  ०७७ चैत २७ गते

बनेपा नगरपालिका–५ रविओपीकी ३२ वर्षीया मसिने सार्कीको बलात्कारपछि हत्या भएको भन्दै पीडितका पति ५३ वर्षीय श्रीमानश्यामे सार्कीले चैत २५ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिनु भएको छ ।

बनेपा बसपार्कमा पार्क गरिएको बा २ ख २४२७ नम्बरको बस भित्र पीडित महिलाको शव चैत २२ गते बेवारिसे अवस्थामा फेलापरेको थियो ।

घटनाको अनुसन्धानको क्रममा महिलाको बलात्कारपछि हत्या भएको र घटनामा संलग्न भएको आरोपमा १४ वर्षीय दुई बालक, १६ वर्षीय एक बालक र १७ वार्षीया बालिकालाई चैत २२ गते इलाका प्रहरी कार्यालय बनेपाले बनेपा बजारबाट गिरफ्तार गरेको छ । आरोपित सबै सडक बालबालिका हुन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर योगेन्द्र तिमल्सिनाकाअनुसार शवको पोष्टमार्टम चैत २३ गते धुलिखेल अस्पतालमा भएको थियो ।

आरोपित बालबालिका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ (ज्यान सम्बन्धी कसुर) कर्तव्य ज्यान मुद्दा शिर्षकमा चैत २४ गते नै  मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्यादथप गरी अनुसन्धान सुरु गरिएको इन्सपेक्टर तिमल्सिनाले जानकारी दिनुभयो ।


हिरामान तामाङ