बलात्कारपछि हत्या घटनाका आरोपित १६ वर्षपछि गिरफतार

  ०८० जेठ ९ गते

धरान उपमहानगरपालिका–१० की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई घटना भएको १६ वर्षपछि गिरफ्तार गरेको छ ।

पीडितलाई धरान उपमहानगरपालिका–१२ स्थित महेन्द्रपथमा रहेको बलभद्रेश्वर अरूणोदय धर्मशालाको कोठा न.२१८ मा ०६४ मङ्सिर २३ गते बन्धक बनाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई ०८० जेठ ७ गते गिरफ्तार गरेको हो ।

गिरफ्तारीमा पर्नेमा  धनकुटा, शहिदभूमि गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई छन् ।

पीडितलाई सामूहिक बलात्कारपछि घाँटी थिचेर हत्या गरेको आरोपमा दुई जनालाई १६ वर्षपछि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले बताउनु भयो ।

आरोपित दुवै जनाले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको डिएसपी मल्लले बताउनु भयो ।

प्रहरीले आरोपितविरूद्ध जिल्ला अदालतमा जेठ ७ गते बलात्कार र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

मृतकको पोष्टमार्टम ०६४ मङ्सिर २४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा गरिएको थियो ।

पीडित पक्षले सोही दिन शव बुझी सेउती किनारमा सद्गत गरेको थियो ।


जयकृष्ण यादव