बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

  ०७८ भदौ ३ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ‘फरार’ रहेका छिन्नमस्ता गाउँपालिका–६ कोचावखारी कुपहीका २१ वर्षीय प्रदिपकुमार मण्डलविरुद्धको उजुरी भदौ २ गते मुल्तबीमा राख्ने फैसला गरिएको छ ।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको हो ।

पीडित बालिकालाई आरोपितले ०७५ माघ १० गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७५ फागुन २६ गते उजुरी दिएकी थिइन् ।

पीडितलाई बिवाह गर्ने आश्वासन दिई ललाइफकाई भदौ ७ गतेदेखि पटक–पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

आरोपितले पछिल्लो पटक ०७५ माघ १० गते बलात्कार गरेको थाहा पाई पीडितलाई सोधपुछ गर्दा र स्वास्थ्य परीक्षण गराउँदा पीडित बालिका ३४ हप्ताको गर्भवती रहेको थाहा पाएर पीडितकी आमाले ०७५ फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितकी आमाले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते दर्ता गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन २७ गते गरिएको थियो ।

भारतको चण्डिगढमा अध्ययनरत आरोपितलाई हालसम्म गिरफ्तार गर्न नसकिएको प्रहरीले जनायो । जिल्ला अदालतमा ०७६ भदौ ८ गते अभियोगपत्र दायर गरिएको छ । पीडित बालिकाले ०७६ चैत १९ गते दिउँसो ४ः१० बजे छोरीलाई जन्म दिएकी छन् ।


मनोहरकुमार पोखरेल