बलात्कारको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

  ०७८ भदौ २ गते

७ वर्षीया बालिकालाई बलात्कार गरको कसुरमा ककनी गाउँपालिकाका १६ वर्षीय बालकलाई जिल्ला अदालतले दोषी ठहर गर्दै १२ वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको  छ ।

न्यायाधीश उमेशप्रसाद लुईटेलको साउन ३२ गतेको इजलासले आरोपित बालकले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकार दिनुभयो ।

फैसलामा पीडित राहत कोषबाट पीडित बालिकालाई रु.१ लाख क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । पीडित बालिकालाई ०७६ कात्तिक १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १६ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १६ गते नै त्रिशूली जिल्ला अस्पतालमा गरिएको थियो । आरोपित बालकलाई जिल्ला अदालतले ०७६ मङ्सिर १० गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि नेपालगञ्ज बाल गृहमा पठाइएको थियो । कसुरदार हाल बाल गृहमै रहेका छन् ।


नवदीप श्रेष्ठ