बलात्कारका घटनाका आरोपित कारागारका कर्मचारीलाई कारवाही गर्न कैदीको माग
कारागार कार्यालय सप्तरीको कैदमा रहेका बेला ३० वर्षीया महिलामाथि कारागारका कर्मचारी राजविराज नगरपालिका–८ का ३५ वर्षीय चन्दन भनिने चन्द्रनारायण यादवले बलात्कार गरेको भन्दै परेको उजुरीमाथि कारवाही नभएको पीडित महिला कैदीले गुनासो गर्नु भएको छ ।
महिलाले शारीरिक परीक्षण र घटनाको अनुसन्धान गरी आरोपितलाई कारवाहीको लागि पहल गर्न इन्सेक प्रतिनिधिसमक्ष आफ्ना कानुन व्यावसायीमार्फत माँग गर्नु भएको छ ।
कर्तव्य ज्यान, ज्यान मार्ने उधोग र आत्महत्या दुरुत्साहन आरोपमा ०७६ असार २२ गते गिरफ्तार भएकी महिला साउन १५ गतेदेखि कारागारमा थुनामा रही कैद भुक्तान गरिरहेकी छिन् । सप्तरीमा ०७६ असार २० गते दुई बालक र एक बालिका बेपत्ता भएको घटनामा असार २२ गते गिरफ्तार महिला साउन १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिइन् । उनलाई सप्तरी जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुबेदीको इजलासले ०७९ पुस २१ गते जन्मकैद सजाय गर्ने फैसला गरेको थियो । जस अनुसार महिला २१०१ असार २१ गतेसम्म कैदमा बस्नु पर्ने अदालतले जनाएको छ । पटक–पटक विवादमा पर्दै आएका आरोपित भने १७ वर्षदेखि कारागार कार्यालय सप्तरीमा करार सेवामा कार्यालय सहयोगीको रुपमा कार्यरत छन् ।
बलात्कार पछि घटना ढाकछोप गर्न सिरहा कारागार, पुनः सप्तरी हुँदै उदयपुर कारागार सरुवा गराइएको बताएकी महिलाले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएपछि घटना बाहिरिएको हो । उजुरी अनुसार आरोपित यादवले राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालय सप्तरीको प्रशासनिक भवनमा रहेको बिजुली घरको कोठा भित्र लगी माघ ५ गते अपरान्ह साढे चार बजे बलात्कार गरे ।
महिला कैदीले एक वर्षअघि मात्रै महिला कैदी बन्दीको नाइकेको जिम्मेवारी पाएकी थिइन् । नाइके भएकाले कारागारको प्रशासनिक कार्यालयसम्म आवतजावत गर्न, तरकारीका लागि हाट बजार जान र कर्मचारीहरूसँग कुराकानी गर्न उनलाई छुट थियो । सोही क्रममा माघ ५ गते कारागारमा कार्यालय सहयोगीका रूपमा कार्यरत यादवले विशेष काम छ भन्दै बिजुली घरको कोठामा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । कोठाभित्र प्रवेश गरेपछि यादवले चुकुल लगाएर धम्की दिदै बलात्कार गरेको महिलाले बताइन् । महिलाका अनुसार उनले लगाएको सल थुतेर मुख बन्द गरी सिसी देखाउँदै हल्ला गरे अनुहारमा एसिड खन्याइ दिने धम्की समेत दिए । डर, त्रास, धम्कीपछि महिलालाई यादवले हात बाँधेर बलात्कार गरेको उनले बताइन् ।
बलात्कार पछि डराएर चुपचाप बसेकी पीडित महिलाले केही दिन पछि सँगै बस्ने मन मिलेकी एक महिला बन्दीलाई आफ्नो पीडा सुनाइन् । खबर फैलिएर आरोपित यादव कहाँ पुगेपछि आफ्नो कर्तुत सार्वजनिक हुने डरले कारागार प्रशासनसँग मिलेर यादवले महिलालाई ०८० फागुन ९ गते सिरहास्थित कारागार सरुवा गराएको पीडितले बताइन् ।
सप्तरी कारागारको फागुन ८ गतेको चलानी नम्बर २२७९ को पत्र प्राप्त भएपछि कारागार व्यवस्थापन विभागको च.न. १०७७ को पत्र अनुसार महिलालाई फागुन ९ गते सिरहा पठाइएको देखिन्छ । च.न. २३०० को पत्र सहित महिलालाई सिरहा कारागार पुर्याउन आरोपित यादव नै गएका छन् । पटक–पटक सिराहा कारागार पुगेका यादवले सिरहा कारागारमा पनि आफ्ना मानिसहरू नै रहेको जानकारी दिई ज्यान मार्ने धम्की दिदै घटना सार्वजनिक नगर्न दवाव दिने गरेको पीडित महिलाले बताइन् ।
पटक–पटक सिरहा कारागार जानुपर्ने झण्झट भएपछि चन्दनले ती महिला कैदीलाई जेठ १५ गते पुनः सप्तरी कारागारमै सरुवा गरेर ल्याएको उनले बताइन् । महिलालाई सिरहाका कार्यालय सहयोगी गीताकुमारी यादवले सप्तरी कारागार ल्याएकी थिइन् । सिरहाको च.न. २२१६ को पत्र पुगेपछि कारागार व्यवस्थापन विभागको च.न. १५३० को पत्र अनुसार जेठ १५ गते सिरहाबाट सप्तरी ल्याइएको कागजबाट देखिन्छ ।
घटना सार्वजनिक नगर्न अनेक प्रलोभनर ज्यान मार्ने धम्की दिएपनि महिलाले मौन नबस्ने बताएपछि पुनः कारागार प्रशासनसँग मिलेर उदयपुर स्थानान्तरण गरिएको महिला कैदीले बताइन् । कारागार व्यवस्थापन विभागको च.न. ७३ को पत्र अनुसार साउन ८ गते उदयपुर कारागार स्थानान्तरण गरिएको देखिन्छ । सप्तरी कारागारले उदयपुर स्थानन्तरणका लागि च.न. ११७ को पत्र साउन ७ गते विभागलाई पठाएको भोलि पल्टै महिलाको स्थानान्तरण भएको छ । उदयपुर कारागार समेत पुगेर आरोपितले डर, धाक धम्की र प्रलोभन दिइरहे पनि महिलाले अन्ततः त्यहाँका कर्मचारी र कैदी बन्दीको सहयोग र समर्थनमा उजुरी दिएको बताइन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महिला कैदीले भदौ २१ गते कार्यालयमा उजुरी दिइन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले महिला कैदीमाथि बलात्कार भएको भन्दै उजुरी परेपछि वारदातस्थल सप्तरी कारागार कार्यालय भएकाले अनुसन्धानका लागि भदौ ३० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी पठाइएको जनाएको छ । घटनास्थल भएकै जिल्लाबाट अनुसन्धान प्रक्रिया अघि बढाउनु पर्ने भएकोले उजुरी सप्तरी पठाइएको हो ।
सप्तरीका डिएसपी ढुण्डीराज नेउपानेले उदयपुरबाट उजुरी आएपछि असोज ६ गते उजुरी दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताउनु भयो । कारागारका निमित्तप्रमुख प्रविण अधिकारीले कैदी बन्दीबीच झगडा भएपछि महिलालाई सिरहा स्थानान्तरण गरिएको र पुनः सप्तरी आएकी महिला कैदीले पुरानै नाइके पद नपाएर झगडा गर्न थालेकोले उदयपुर स्थानान्तरण गरिएको बताउनु भयो । सोही आवेशमा कर्मचारीमाथि बलात्कारको आरोप लगाएको उहाँले बताउनु भयो ।
आरोपित कर्मचारी यादवले पुनः नाइके बन्न नपाएको र कारागार स्थानान्तरणको कारक आफूलाई ठानेर महिला कैदीले झुठा आरोप लगाएको बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…