बर्दियामा ८९ प्रतिशत घरधुरीका उपभोक्ता खानेपानीको पहुँचभन्दा बाहिर
बर्दियामा ८९ प्रतिशत घरधुरीका उपभोक्ता सुरक्षित खानेपानीको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । खानेपानी तथा सरसफाई कार्यालय, बर्दियाको तथ्याङ्क अनुसार बर्दियामा ९४ हजार ६ सय ३० घरधुरीका उपभोक्ता सुरक्षित खानेपानीको पहुँचभन्दा बाहिर रहेको पाइएको हो ।
अझै पनि बर्दियामा ८९ प्रतिशत घरधुरीका उपभोक्ता पानीको लागि चापाकलमा निर्भर रहेका छन् । चापाकलको पानीमा आइरन र आर्सेनिक मात्रा बढी रहेको छ । सोही आइरन र आर्सेनिक भएको पानी पिउन उपभोक्ताहरू बाध्य रहेका छन् । ११ हजार ६ सय ९६ घरधुरीका उपभोक्ता पानीको पहुँचमा रहेका छन् ।
गुलरिया नगरपालिकामा रहेको १६ हजार २ घरधुरी मध्ये १३ हजार २ सय ५२ घरधुरी, मधुवन नगरपालिकाको १२ हजार ४ सय ४४ घरधुरी मध्ये १० हजार २ सय ४० घरधुरी सुरक्षित खानेपानीको पहुँचभन्दा बाहिर रहेका छन् भने ठाकुरबाबा नगरपालिकाको ११ हजार ४ सय ६८ जना घरधुरी मध्ये ९ हजार ८ सय ६५ घरधुरी, बारबर्दिया नगरपालिकाको १६ हजार ८ सय ९७ जना घरधुरी मध्ये १५ हजार ६ सय ७५ घरधुरी, बाँसगढी नगरपालिकाको १५ हजार ९१ जना घरधुरी मध्ये १३ हजार ९ सय २१ घरधुरी सुरक्षित खानेपानीको पहुँच बाहिर रहेका छन् ।
यसैगरी राजापुर नगरपालिकाको १३ हजार ६ सय ५९ घरधुरी मध्ये १३ हजार ३ सय १७ घरधुरी, गेरुवा गाउँपालिकाको ७ हजार ७ सय ६२ जना घरधुरी मध्ये ७ हजार ४ सय २० घरधुरी र बढैयाताल गाउँपालिकाको १२ हजार ९ सय ६१ घरधुरी मध्ये १२ हजार ८ सय ६१ घरधुरी उपभोक्ता सुरक्षित खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाई कार्यालयका प्राविधिक छविलाल बास्तोलाले जानकारी दिनुभयो ।
यस वर्ष १० करोड १९ लाख ४ हजार रुपियाँ विभिन्न खानेपानी आयोजनामा छुट्टाएको प्राविधिक बास्तोलाले बताउनु भयो । उहाँले सो बजेटले पर्खाल निर्माण, विद्युतीकरण, टङ्की निर्माण, खानेपानी आयोजनाको कार्यालय निर्माण र खानेपानीको पाइप जडानका खानेपानी आयोजनाको मर्मत तथा विस्तार, सरसफाई तथा ढल व्यवस्थापन लागि बजेट आएको बताउनु भयो । मधुवन नगरपालिकामा रहेको रामकृष्ण खानेपानी आयोजनाका सचिव तृष्णा गुरुङले मानव जीवनको लागि सफा र सुरक्षित पानी अति आवश्यक रहेको बताउनु भयो । सचिव गुरुङ भन्नुहुन्छ – ‘स्थानीय तहले खानेपानी ल्याब र प्रविधिक राखेर खानेपानी आयोजनाको गुणस्तर परीक्षण गर्नुपर्छ ।'
खानेपानी तथा सरसफाई कार्यालय बर्दियाका कार्यालय प्रमुख बसन्तकुमार दुलालले खानेपानीको आयोजना सञ्चालन गर्दा बजेट अभाव, कार्यालय सञ्चालनका लागि जनशक्ति अभाव, सडक विस्तारका काम हुँदा खानेपानीको पाइपमा टुटफुट हुनु, ठेक्का निर्माणको काम समयमा सम्पन्न नहुनु, खानेपानीको आयोजना स्थानीय तहको प्राथमिकतामा नपर्नु लगाएको कारण पनि खानेपानीको आयोजनाको काम समयमा सम्पन्न नहुने समस्या रहेको बताउनु भयो । उहाँले भन्नुभयो - ‘कार्यालयमा पाँच जना सव-इन्जिनियरको दरबन्दी भए पनि एक जना मात्र सव-इन्जिनियर हुनुहुन्छ, जसमा कारण पनि समस्या भएको छ । खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताले पनि लगानी गर्नुपर्छ । तर उपभोक्ता समिती सक्रिय नहुँदा समस्या आउने गरेको छ ।’
खानेपानी तथा सरसफाई उपभोक्ता समिति महासङ्घको अध्यक्ष टिका सम्मेलीले सङ्घीय तथा प्रदेश सरकारले खानेपानी आयोजना सञ्चालन गर्नका लागि पर्याप्त मात्रमा बजेट व्यवस्थापन नगर्ने, बजेट ढिलो पठाउने, स्थानीय तहले प्रदेश र सङ्घीय सरकारको निर्भर हुने कारणले गर्दा खानेपानी आयोजनाका कामहरू समयमा सम्मन्न नहुने समस्या रहेको बताउनु भयो । उहाँले सम्पूर्ण निकायले आयोजना निर्माणको लागि बजेट व्यवस्थापनसँगसँगै सचेतनाको कार्यक्रम पनि सञ्चालन गर्न जरुरी रहेको धारण व्यक्त गर्नुभयो ।
प्रकाश पौडेल
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…