बर्दियाका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव

  ०७३ मङ्सिर १८ गते

बर्दियाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि बर्दियामा अभाव भएको हो ।

जिल्लाका सबै स्वास्थ्य चौकीमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रो, डिपो जस्ता अत्यावश्यक औषधिसमेत अभाव भएको सानोश्री स्वास्थ्य चौकीका इञ्चार्ज हरिहर सापकोटाले बताए ।

सरकारले नागरिकलाई ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि जिल्ला अस्पताल बर्दियाले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत ५८ किसिमका र स्वास्थ्य चौकीमार्फत ३५ किसिमका औषधि वितरण गर्दै आएको छ । बर्दियामा तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ ओटा स्वास्थ्य चौकी छन् ।

स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि निःशल्क पाइने औषधिसमेत सर्वसाधारणले महङ्गो शुल्क तिरेर किन्न बाध्य भएका छन् । सूर्यपटुवा गाविसकी सुन्दररानी थारुले भनिन्-'टाउको दुखेर स्वास्थ्य चौकीमा जचाउँन जाँदा औषधि सकिएको भन्दै सिटामोल समेत किन्न मेडिकलमा कागज लेखी पठाए ।'

जिल्ला अस्पतालमा दमका बिरामीलाई आवश्यक औषधि साइल ब्युटामोल चार एमजी, दुखाइ कम गर्ने आइब्रोफिन, बुष्कोपान, स्रि्रो ट्याब्लेट दुई सय ५० एमजी र पाँच सय एमजी, बच्चालाई ज्वरो आउँदा खुवाउने सिटामोल झोल लगायतका औषधिसमेत अभाव भएको छ । त्यसैगरी, आँखामा प्रयोग हुने झोल औषधि, एन्टिबायोटिक औषधि र बिरामीका लागि बढी मात्रामा प्रयोग हुने सलाइन पनि अभाव रहेको अस्पतालले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले औषधिको अभाव भएको बताउँदै टेण्डर आह्वान गरेर औषधि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब केही दिनमा समस्या समाधान हुने जानकारी दिए ।


मानबहादुर चौधरी