बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी

सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ ।

साउन २१ गते रातिदेखि सुत्केरी ब्यथाले च्यापेपछि परिवारले साउन २२ गते घरदेखि स्वास्थ्य चौकी ल्याउने क्रममा लालीमायाले बाटोमै बच्चालाई जन्म दिनु भएको हो ।

स्वास्थ्य चौकी कटुञ्जेका प्रमुख भानुभक्त बास्तोलाले नर्सिङ स्टाफ भए, नभएको विषयमा लालीमायाको परिवारले पटकपटक फोन गरेर जानकारी लिएको बताउनु भयो ।

प्रमुख बास्तोलाले नर्सिङ्ग स्फाट नभएकोले अस्पताल लैजान सुझाव समेत दिएको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

स्टेचरमा बोकेर स्वास्थ्य चौकी लैजाँदै गर्दा सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय महिलाहरूले प्रसूति गराउनको लागि सहयोग गरेको सुनकोशी गाउँपालिका–९ कटुञ्जका सागर उपकारले बताउनु भयो ।

बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेपनि सुत्केरी रापचालाई रक्तश्रावको समस्या देखिएको उहाँको भनाइ छ ।

स्वास्थ्य संस्थामा कर्मचारी नभएको विषयमा स्थानीयले मौखिक रुपमा आवाज उठाएपनि सुनुवाइ नभएको गुनासो सागर उपकारले गर्नु भएको छ ।

बाटोमै सुत्केरी भएकी महिलाको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि साउन २२ गते नै सदरमुकाममा रहेको सामुदायिक अस्पताल मिसन अस्पताल ल्याइएको छ ।

स्थानीय तह सदस्य निर्वाचन ०७९ मा निर्वाचित भएर आएका जनप्रतिनिधिले करारमा रहेका कर्मचारी हटाएर नयाँ नियुक्ति नगरेका कारण गाउँहरूमा सुरक्षित सुत्केरी गराउन समस्या भएको सुनकोशी गाउँपालिका–९ का वडाध्यक्ष हितराज कार्कीले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

कटुञ्जे स्वास्थ्य चौकीमा कार्यरत दुई जना नर्सिङ स्टाफ कर्मचारीमध्ये मुना गिरी सुत्केरी बिदामा बसेको र अस्मिता श्रेष्ठलाई स्थानीय तहले मूलखर्क स्वास्थ्य चौकीमा काज सरूवा गरेपछि प्रसूति गराउने कर्मचारीको अभाव भएको वडाध्यक्ष कार्कीको भनाइ छ ।


सरस्वती बानिया