बर्थिङ् सेन्टरका सेवाग्राही दुई वर्षमा एक जनामात्र

कास्कीको लाहाचोक गाविस-५ मा रहेको स्वास्थ्य चौकीको भवन सुरक्षित नभएकै कारण बर्थिङ् सेन्टरमा सुत्केरी सेवा लिन आउनेको सङ्ख्या दुई वर्षमा एक जनामात्र पाइएको छ ।

दुई वर्षअघि नेपाल सरकारले बर्थिङ् सेन्टरको अनुमति लिई सेवा सञ्चालन गरेको स्वास्थ्य चौकीले दुई वर्षको अन्तरालमा एक जनालाई मात्रै सुत्केरी गराएको छ । स्वास्थ्य चौकीको आफ्नो भवन नभएको कारण गाविसको बन्दै गरेको भवनबाट सुत्केरी सेवा सञ्चालन गरिरहेको छ ।

बर्थिङ् सेन्टरका लागि एउटामात्र कोठा छ । एउटै कोठामा सुत्केरी गराउने तथा साधारण बिरामी जाँच गर्नुपर्ने हुँदा सुत्केरी गराउन महिलाहरू आउन हिचकिचाउने गरेको स्वास्थ चौकीका प्रमुख तेजाखर लम्सालको भनाइ छ ।

गर्भवती महिला सुत्केरी जाँचका लागि स्वास्थ्य चौकीमा आउने गरेको भएपनि सेवाप्रति नै अविश्वासका कारण सुत्केरी गराउन भने महङ्गो शुल्क तिरेर सदरमुकामका अस्पतालतिर जाने गरेको स्थानीयले बताए ।

बर्थिङ् सेन्टरमा सुत्केरी गराउन आवश्यक सबै सामाग्री र स्वास्थ्य कार्यकर्ता भएतापनि अविश्वास र सुबिधा सम्पन्न भवन नभएकै कारण बर्थिङ् सेन्टरमा सुत्केरी गराउन स्थानीय नआउने गरेको लम्सालले बताए ।

स्वास्थ्य चौकी र बर्थिङ् सेन्टरलाई व्यवस्थित बनाउनेतर्फध्यान दिन सके बर्थिङ सेन्टरमा सुत्केरी गराउनेको सङ्ख्यामा बृद्धि हुने आशा बाँकी नै रहेको उनले बताए ।


संगीता भाट