बर्खे भेल बढेपछि पठनपाठन प्रभावित

  ०७९ असार १४ गते

बर्खा लागेसँगै खारखोलाको बाढीले पैदल हिँड्ने पहुँचमार्ग बगाएपछि पालुङटार नगरपालिका–९ को धर्मोदय माध्यमिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।

विद्यार्थीहरु असार १२ र १३ गते खारखोलाको बर्खे भेल तरेर जोखिमका साथ विद्यालय जान बाध्य छन् ।

वर्षातका कारण खारखोला बढेपछि असार १२ गते २ सय ५० मध्ये खोलावारीका १ सय विद्यार्थी विद्यालय पुग्न नसकेको विद्यालयका शिक्षक नानीवावु अधिकारीले बताउनु भयो ।

असार १३ गते भने भेल तरेरै विद्यार्थी विद्यालय पुगेका छन् । असार ११ गतेको वर्षातपछिको बाढीले विद्यालय पुग्ने खारखोलाको पैदल हिँड्न बनाइएको पुलको पहुँचमार्ग बगाएपछि समस्या थपिएको उहाँले बताउनु भयो ।

विद्यालय  नजिकैको खारखोलाको अर्को काठे पुल पनि जीर्ण बन्दा विद्यार्थीलाई आउजाउ गर्न सकस परेको हो ।

खोलावारीका विर्दि, भञ्ज्याङ डाँडा, भुते सिमल, वुरुवा, श्रीपाली गाउँ, छेरेक, छरछरेबाट १ सय ५० सय बालवालिका खारखोला पारी रहेको धर्मोदयमा अध्ययनका लागि जाने गरेका छन् ।

पुलको पहुँचमार्ग भत्किएपछि समस्या परेको विद्यालयका प्रध्यानाध्यापक कृष्ण न्यौपानेले बताउनु भयो । खोला वारीका ठुला कक्षाका विद्यार्थी खोला तरेर विद्यालय पुगेपनि १–३ कक्षाका विद्यार्थी विद्यालय आउन मुस्किल परेको उहाँले बताउनु भयो ।

ठुला कक्षाका विद्यार्थीलाई हात समातेर र साना कक्षाका विद्यार्थीलाई बोकेर खोला वारपार गराउने गरेको न्यौपानेले बताउनु भयो ।

तारजालीको व्यवस्था गरेर कटान क्षेत्रलाई संरक्षण गरेर पुल जोगाउन स्थानीयहरुले माग गरेका छन् । खारखालाको वाहव पुलभन्दा छाडेर हिँड्ने बाटोतर्फ सोझिदा समस्या परेको पालुङटार नगरपालिका–९ का वडा अध्यक्ष भेजराज पाण्डेले बताउनु भयो ।

एक्जाभेटर लगाएर खोला साविककै ठाउँबाट बगाएर पुलबाट हिँड्न सजिलो बनाउनका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

photo20220628gorkha


हरिराम उप्रेती