बम विस्फोटनबाट घाइते बालकको उपचार हुँदै

  ०७८ कात्तिक ९ गते

सामुदायिक वनमा घाँस काट्ने क्रममा ०७८ कात्तिक ६ गते बम विस्फोटन हुँदा घाइते भएका गुराँस गाउँपालिका–६ दैलेखका १५ वर्षीय नरेश नेपालीको उपचार सुर्खेको देउती अस्पतालमा भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिका–७ को कटकुवा सामुदायिक वनमा भएको उक्त विस्फोटनमा परी नरेशसँगै उनको दिदी २१ वर्षीया लीला नेपाली पनि घाइते भएकी थिइन ।

सामान्य घाइते भएकी लीला डिस्चार्ज भएको र नरेशको उपचार भइरहेको अस्पतालका डाक्टर लोकेन्द्र थापाले जानकारी दिनुभयो । ‘बालकको दायाँ  आँखाको भिजन गुमेको छ, बायाँ आँखामा पनि छेस्को पसेको देखिन्छ’ डाक्टर थापाले भन्नुभयो ‘७ गते एउटा आँखाको शल्यक्रिया भएको छ, अझै केहि दिन बस्नुपर्ने देखिन्छ ।’

घटनास्थल नयाँ सबुज गण कपासे व्यारेक नजिकै रहेकोले सेनाले तालिम गराउने क्रममा रहेको डेटोनेटर पड्किएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

बालक अध्ययनका लागि वीरेन्द्रनगर नपा–७ स्थित सोहनकेशर खनालको घरमा बसेको र आफूहरू शनिबार भएकोले घरधनीलाई सहयोग गर्नको लागि जङ्गल गएको लीलाले जानकारी दिनुभयो ।

घाँस काट्ने क्रममा एउटा डल्लोजस्तो वस्तु भेटिएको र छोइने बित्तिकै पड्किएको उहाँको भनाइ छ ।

घटना भएलगत्तै कपासे व्यारेकमा जानकारी गराएपनि दुइघण्टापछि स्टेचर ल्याएर सेना घटना स्थल पुगेको घरधनी खनालले गुनासो गर्नुभयो ।

दुवैजना घाइतेको उपचारको खर्च आफूले जुटाएको भन्दै उहाँले बालकको उपचार र क्षतिपूर्तिका लागि आवश्यक पहल गरिदिन कात्तिक ९ गते इन्सेक कर्णाली प्रदेश कार्यालयमा निवेदन दिनुभएको छ ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत