बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद

  ०७९ चैत ९ गते

बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले बम विष्फोटको सहयोगीका रूपमा १ वर्ष कैद तथा ज्यान मार्ने उद्योगमा ३ वर्ष कैद र ३० हजार रूपियाँ जरिवाना गरेको हो । चौधरी अवकाश प्राप्त नेपाली सैनिक हुन् । उनी राष्ट्रिय स्तरका भलिबल खेलाडी समेत थिए ।
अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार खडक नपगरपालिका–३ का ३७ वर्षीय सागरबाहु भनिने अशोक साहले सफाइ पाएका छन् । अन्य आरोपितहरू सिरहा धनगढीमाई नगरपालिका–५ का २६ वर्षीय सिजन भनिने रामकुमार यादव र भारत बिहार राज्य मधुबनी जिल्ला अनुमण्डल फुल प्रासका ३३ वर्षीय साकिर मियाँ विरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ ।
गस्तीमा हिंडेको इलाका प्रहरी कार्यालय कडरबोनाको बा.१ झ ७३९२ नम्बरको भ्यानमा सशस्त्र समूह प्रगतिशील तराई मुक्ति मोर्चामा आबद्ध आरोपितहरूले ०७४ साउन २१ गते राति प्रेसर कुकर बम विष्फोट गराई क्षति पु¥याएका थिए । सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँ स्थित सडकमा खाल्डो खनी बिछ्याएको एम्बुस विष्फोटले प्रहरी भ्यानको अगाडि भाग क्षतिग्रस्त भएको थियो । उक्त भ्यानमा इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर राजेन्द्र प्रसाद यादवसहित एक दर्जन प्रहरी सवार थिए ।

सुरुङ्गा नगरपालिका–६ स्थित जनता निम्न माध्यमिक विद्यालयमा जुवा खेलाउँदै गरेको भन्दै प्रहरीलाई गलत सूचना दिएपछि इलाका प्रहरी कार्यालयबाट दुई किलोमिटर उत्तर–पश्चिम तर्फ रहेको श्रीपुर गाउँतर्फ जाँदै गरेको प्रहरी चढेको भ्यानलाई पोखरीको डिलको साँघुरो कच्ची बाटोमा पुग्दा बम विष्फोट गराइएको थियो । त्यसलगत्तै मोबाईलबाट प्रहरी प्रमुखको नम्बरमा ‘प्रगतिशील तराई मुक्ति मोर्चा जिन्दावाद, यो घटनाको जिम्मा हाम्रो’ भन्ने व्योहोराको म्यासेज प्राप्तभएको थियो । ०७४ साउन ४ गते मात्र अस्तित्वमा आएको सो समूहका संयोजक सिजनले साउन २१ गते राति साढे नौ बजे नै बम विष्फोट गराएको जिम्मा लिएर केही पत्रकारलाई समेत म्यासेज पठाएका थिए ।
जयकृष्ण गोइत नेतृत्वको भूमिगत सशस्त्र संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट छुट्टिएर स्थापना भएको उक्त समूह प्रहरी भ्यानमाथि गराएको उक्तबम विस्फोटको घटना पछि चर्चामा आएको थियो ।
उक्त घटनाको एक महिना नबित्दै सोही समूहका नेताहरूले सप्तरीको सुरुंङ्गा–६ स्थित त्रियुगा डिस्टिलरीका सञ्चालकलाई फोन गरेर ‘प्रहरीको गाडी उडाएको थाहै होला, पार्टीलाई सहयोग गर्नुस् नभए तपाईंको हविगत पनि उस्तै हुन्छ’ भनी धम्क्याएका थिए । धम्की पश्चात् पनि त्रियुगाका सञ्चालकले चन्दा नदिए पछि ०७४ असोज २४ गते उक्त उद्योगका सुरक्षा गार्डलाई अज्ञात व्यक्तिहरूले गोलीहानी घाइते बनाएका थिए । उक्त घटनाको जिम्मेवारी पनि सिजन समूहले नै लिएको थियो ।
त्यस्तै ०७५ कात्तिक ६ गते कोसी नदीको बालुवा सफा गर्ने भारतीय ठेकेदार कम्पनीको काम रोकेर धम्क्याउँदै उक्त समूहका कार्यकर्ताले पर्चा छर्नुका साथै ठकेदारसँग ३० लाख रूपियाँ चन्दा मागेका थिए । चन्दाका लागि ठेकेदारलाई पटकपटक धम्की दिने कामसमेत भइरहेको प्रहरीको भनाइ छ ।
खडक नगरपालिका–८ बिसनपुर चोकमा ०७५ माघ २ गते राति प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर जब्दीका ३६ वर्षीय प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि गोली प्रहार भएको घटनाको जिम्मेवारी समेत सिजन समूहले नै लिएको थियो । घटना स्थलमा सशस्त्र समूह सिजन नेतृत्वको प्रगतीशिल तराई मुक्ति मोर्चाको पर्चा र गोलीको खोका भेटिएको थियो ।
सतरामाथि गोली प्रहार गरी ज्यान मार्ने उद्योग गरेको कसुरमा चौधरी र अशोक साहलाई ०७९ माघ २६ गते अदालतले १२ वर्ष कैद सजाय गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयले चौधरीलाई ०७५ माघ ७ गते हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी व्यारेजबाट गिरफ्तार गरेको थियो ।
इन्स्पेक्टर राजेन्द्रप्रसाद यादवको प्रतिवेदनका आधारमा ०७५ चैत ११ गते जिल्ला अदालतमा अभियोग पत्रदायर भएकोमा अदालतको आदेशमा आरोपित चौधरी ०७५ चैत १२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । जिल्ला अदालतमा ०७८ असार २९ गते हाजिर भएका सागरबाहु भनिने अशोक साहलाई अदालतले सोहीदिन ५ लाखरूपियाँ धरौटीमा राखीपुर्पक्ष गर्न आदेश दिएको थियो । आरोपितले धरौटी रकम बुझाउन नसके पछि कारागारमा थुनामा छन् । अन्य आरोपितहरू सिजन भनिने रामकुमार यादव र साकिर मियाँविरुद्ध सतराको ज्यान मार्ने उद्योगमा समेत ०७९ माघ २६ गते मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ ।
घटनामा आरोपित भनिएका सुरुङ्गा नगरपालिका–६ कडरबोनाका ३० वर्षीय दिपेश जायसवाल भनिने दिपेन्द्र चौधरीलाई प्रहरीले ०७५ माघ ९ गते विहान रूपनी गाउँपालिका–१ स्थित राजविराज आउने सडक खण्डमा गोली प्रहार गरी हत्या गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएर मुठभेंडको नाटक मञ्चन गरी दिपेन्द्रको हत्या गरेको भन्दै परिवारका सदस्य, गाउँलेहरू र राजपा नेपाल आबद्ध राष्ट्रिय विद्यार्थी संघले ०७५ माघ १० गते राजविराजमा प्रदर्शन गरेको थियो । प्रहरीले भने मृतकको साथबाट प्रगतिशील तराई मुक्ती मोर्चाको पर्चा, कटुवा पेस्तोल र गोली फेला परेको भन्दै आत्म रक्षाका लागि प्रहरी कारबाहीमा मारिएको बताएको थियो ।


मनोहरकुमार पोखरेल