बम विष्फोटका कारण एमाले कार्यकर्ता गम्भिर घाइते

अज्ञात समूहले राखेको बम विष्फोट भएका कारण भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । युवा सङ्घ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केमैयुङ गाउँपालिका-७ कोट गाउँ पार्टीका सचिव ३३ वर्षीय विक्रम राई बम विष्फोटनमा परी गम्भीर घाइते भएका हुन् ।

Photo20171118Bhojpur

षडानन्द नगरपालिका दिङलाबाट चुनावीसभा सकेर मोटर साइकलबाट फर्कँदै गर्दा षडानन्द-१३ भिरथाप्लामा अज्ञात समूहले राखेको बम विष्फोट हुँदा राई घाइते भएका थिए ।

राईको टाउकोमा गम्भीर चोट लागेको सो पार्टीले जनाएको छ । बम प्रहारबाट घाइते भएका राई अचेत अवस्थामा रहेको र उनको उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लाने तयारी भइरहेको एमाले भोजपुर सचिव शरणकुमार राईले बताए ।

त्यसैगरी जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिका-२ कुलुङमा एमालेको चुनावी सभालाई लक्षित गरी अज्ञात समूहले बम विष्फोट गराएको छ ।

एमाले प्रदेश नं १ (क) का उम्मेदवार राजेन्द्रकुमार राई बोल्दै गर्दा चुनावी सभा नजिकै बम विष्फोट भएको थियो । बम विष्फोट कारण कुनै क्षति नभए पनि केही समय चुनावी सभा रोकिएको थियो । सो घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


किरण राई